हेटौंडा,१८ जेठः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधिले स्थानीय तहका कामबारे आफ्नो पार्टीमा जानकारी गराएका छन् । हेटौंडास्थित एक पार्टी प्यालेसमा भेला भएका जनप्रतिनिधिले पार्टीका नेता तथा जनप्रतिनिधिबीच आफ्नो तहमा भएका कामबारे जानकारी गराएका हुन् ।
जिल्लाका सबै स्थानीय तहमा नेकपाबाट विजयी भएका सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिका उपाध्यक्ष तथा अध्यक्षहरुले आफ्नो तहमा भएका काम र जनतालाई दिएको सेवाबारे जानकारी गराएका हुन् ।
जनप्रतिनिधिहरुको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पुरानो सोच र बन्धनबाट मुक्त भई वर्तमान आवश्यकता अनुसार जनताको काम गर्न जनप्रतिनिधिलाई सुझाव दिए ।
सकारात्मक सोचका साथ राजनीति मात्र नभई आर्थिक अवस्था समेत बदल्ने गरी काम गर्न उनले सबै जनप्रतिनिधिलाई अनुरोध गरे । परिस्थिति अनुसार आफूलाई बदलेर जनप्रतिनिधिले जनताको काम गर्नुपर्ने नेता पाण्डेको भनाई थियो ।
नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको सभाध्यक्षतामा सञ्चालित कार्यक्रममा नेकपाका नेताहरु केदार न्यौपाने, प्रतिनिधिसभा सदस्य तथा आर्थिक समितिका संयोजक कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।