हेटौंडा,१७ जेठः नेपाली साहित्यमा मकवानपुरका कवि तुल्सी थापाले सुरु गरेको नौलो प्रयोग अर्थात् दाना कविताको विषयमा आज हेटौंडामा प्यानल डिस्कसन भएको छ । एनएस टेलिभिजनको आयोजनामा हेटौंडास्थित न्युज क्लब नेपालमा कार्यक्रमा भएको हो ।
दाना कविताबारे चर्चा गर्दै कवि तुल्सी थापाले यसलाई आफ्नो नौलो प्रयोगको प्रयासको रुपमा व्याख्या गरे । कतिपय अवस्थामा आफू फ्लप भएको र कतिपय पाठकबाट राम्रो प्रतिक्रिया पाएको कवि थापाको अनुभव थियो । दशकअघि आफूले मसिनो कविताको रुपमा सृजना गरेपनि पत्रकार तथा साहित्यकार नवराज शर्माले यसलाई दाना कविताको रुपमा नामाकरणको प्रयास गरेको र सो नाम आफूलाई चित्त बुझेकोले आफ्नो नौलो प्रयासले दाना कविताको रुप लिएको उनले बताए ।
दाना कविता नामकरणको सन्दर्भलाई प्रष्ट्याउँदै पत्रकार शर्माले अरु सृजनामा भुस हुने र थापाका यि छोटा कविता असाध्यै गहन तथा गुदी भएको दानाजस्ता लागेकाले दाना कविता भन्दा उचित हुने लागेर यस्तो प्रस्ताव गरेको बताए ।
कार्यक्रमलाई कवि सुवाश खनालले सहजीकरण गरेका थिए । कवि शान्तिप्रिय बन्दनाले प्यानलिष्टहरुको व्यक्तित्वको बारेमा चर्चा गरेकी थिएन् ।
कार्यक्रममा दाना कवितामाथि कविहरु निमेश निखिल, निरा शर्मा, पुष्प पराग, आरसी रिजालले टिप्पणी गरेका थिए । कार्यक्रममा श्यामकुमार बानियाँ, एसके निधन, अप्सरा तिम्सिना लगायतले प्यानल डिस्कसनमा सहभागिता जनाएका थिए । मकवानपुरका अग्रज तथा नयाँ पुस्ताका साहित्यकार, साहित्यसेवीहरुको सहभागिता रहेको कार्यक्रमको आयोजक एनएस टिभीले प्यानल डिस्कसनको लागि भिडियो रिर्पोट निर्माण गरेको महेन्द्र ओझले बताए । कार्यक्रमबाट आफुले स्थापना गरेको दाना कविताले देशव्यापी रुपमा चर्चा पाउनेमा कवि तुल्सी थापाले विश्वास व्यक्त गरे ।