हेटौंडा,१८ बैशाखः प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका नेतालाई सम्मान गरेको छ ।

लामो समय मजदुरहरुको हक अधिकारको निमित्त लड्दै आएका मजदुर नेता ललित बस्नेत र श्रमिक मजदुरको पक्षमा आवाज उठाउँदा उठाउँदै शहीद भएका रुद्र पाख्रिनको जीवन साथी राममाया पाख्रिन तथा मजदुर आन्दोलनमा क्रियाशील गोमा तिमल्सिना सम्मानित भएका हुन् ।

त्यस्तै प्रगतिशिल लेखक संघका पूर्व अध्यक्षहरु सम्राट तुम्बाहाङ्फे, सूर्यचन्द्र न्यौपाने, रमेश मोहन अधिकारी, भोगेन्द्र लुईंटेल, पुरुषोत्तम आचार्यलाई पनि सम्मान गरिएको छ । संस्थाको अध्यक्ष शान्तिप्रिय वन्दनाको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यता तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्लास्थित विभिन्न साहित्यिक संघ, संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता एवम् उपस्थिति रहेको थियो ।