हेटौंडा,२३ चैत्रः झरना साहित्यिक परिवार, मकवानपुरको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान एवम् प्रतियोगितात्मक मुक्तक साँझ आज हेटौंडामा सम्पन्न भएको छ ।

प्रतियोगितामा सरिता तिमल्सिना उत्कृष्ट मुक्तककारका रुपमा पुरस्कृत भएकी छन् । नयाँ पुस्ताकेन्द्रित खुला मुक्तक प्रतियोगितामा प्रस्तुत १९ मुक्तककारका ३८ मुक्तकहरुमध्ये निर्णायक मण्डलले सरिताका २ मुक्तकले सबैभन्दा बढी अंक प्राप्त गरेको भन्दै उनलाई उत्कृष्ट मुक्तककारको रुपमा घोषणा गरेका थिए । प्रतियोगितामा उत्कृष्ट बनेकी तिमल्सिना नगद १,१११ रुपैयाँसहित “उत्कृष्ट मुक्तककार–२०७५”बाट पुरस्कृत भइन् ।

यसैबीच अग्रज मुक्तककार केशव आचार्य “शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७५”बाट नगद ११,१११ रुपैयाँसहित सम्मानित भएका छन् । झरना साहित्यिक परिवारका संस्थापक रमेशमोहन अधिकारीले आफ्ना मातापिताको सम्झनामा स्थापना गरेको उक्त सम्मानबाट झापाका आचार्य सम्मानित भएका हुन् ।

कार्यक्रममा वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेले मन्तव्यका साथमा आफ्ना १० वटा मुक्तक सुनाएका थिए । त्यसैगरी मुक्तक संग्रह प्रकाशित गरिसकेका मकवानपुरे स्रष्टाहरु देवराज खरेल (प्रेमका पाइलाहरु), विश्वनाथ सञ्जेल (क्षितिज यात्रा), डिबी बर्तौला (आगतको आँगनीमा) र अनिष न्यौपाने (भावना) (मनको आँखा)ले आफ्ना ७ प्रतिनिधि मुक्तक वाचन गरेका थिए ।

मुक्तक मात्रको सो कार्यक्रममा अप्रतियोगी मुक्तक वाचन, अतिथिको मन्तव्य तथा मुक्तक वाचन र सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । झरना साहित्यिक परिवारको आयोजनामा सञ्चालन भएको कार्यक्रममा परिवारका अध्यक्ष दिपक गौतमको सभाध्यक्षता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ मुक्तककार हरिकृष्ण काफ्लेको प्रमुख आतिथ्यता रहेको थियो भने “शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०७५”बाट सम्मानित अग्रज मुक्तककार केशव आचार्यको विशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा परिवारका संस्थापक रमेशमोहन अधिकारी, व्यंग्यकार आरसी रिजाल, शिव–साबित्री प्रतिष्ठानका चन्द्रमोहन अधिकारी, आँचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिम्सिना, पत्रकार तथा गजलकार केशव समर्पण, नेपाली लेखक संघका विष्णुप्रसाद गौतम, साहित्यकारहरु अनिता न्यौपाने, मुक्तिगोविन्द वैद्य, राजकुमार तिमल्सिना, श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका ऋषिराम पोखरेल लगायतले शुभकामना मन्तव्य तथा गजल वाचन गरेका थिए ।