सर्वोच्चले सरुवा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि उपसचिव प्रेम सञ्जेल श्रम कार्यालय विराटनगरमा हाजिर भएका छन् । उनको पटक–पटक सरुवाको विषय विवादित यस विषय सर्वोच्चमा पुगेपछि सञ्जेललाई सोही कार्यालयमा काम गर्न अन्तरिम आदेश गरेको हो ।
उपसचिव सञ्जेल त्यहाँ गएको पहिलो दिन नै उनले कार्यालयमै बैंक काउन्टर खोल्न लगाएका छन् । दस्तुर र बीमा शुल्क बुझाउन सानिमा बैंकको काउण्टर खोल्न लगाएका हुन् । सेवाग्राहीले विचौलियामार्फत अनलाइन फारम भरेको ४००, बीमाको ३०० र बैंकसम्म पुगेको ३०० गरी एक हजार तिर्दै आएका थिए । तर, बैंक काउन्टर खोलेपछि ३ सय रुपैयाँमा काम हुने भएको छ ।
सञ्जेल काउण्टर खोल्न आग्रह गर्दै बुधबार प्राइम बैंक पुगेका थिए । तर, प्राइमले तत्काल खोल्न नसक्ने जवाफ दिएपछि सानिमा बैंकलाई काउन्टर खोल्न लगाइएको हो । ‘एउटा कम्युटर राखेर तत्काल काउण्टर खोल्न भनेको छु’ सञ्जेल भन्छन्, ‘दुस्तुर बुझ्न कार्यालयको एउटा झ्यालमा बैंकको काउण्टर राख्न दिन्छौं ।’
बैंकले तीन दिनभित्र काउण्टर खोल्नेछ । ‘काउण्टर खुलेपछि सेवाग्राहीको आधा समस्या हट्छ’ सञ्जेल भन्छन्, ‘बाहिर अनलाइन फारम भरेको ४०० लिँदा रहेछन्, त्यो पनि व्यवहारिक छैन ।’ सटर खोलेर फारम भर्नेहरुको काम हेरेर न्यूनतम शुल्क निर्धारण गर्ने सञ्जलले बताए । कार्यालयमै बैंकको काउण्टर खुल्दा बिमा पनि हुने भएकाले सेवाग्राहीले विचौलियालाई पैसा तिर्नुपर्दैन ।
अनलाइनखबर बाट