ए बिर्खे ! बिर्खे ! !ए बिर्खे !! !उठ् झट्ट ! ठुला घरे आमैको कर्कस आवाजले बिर्खे जर्याक जुरुक्क उठ्छ । आमै अझै जोरसँग कराउँछिन् । तँलाई ठग बजिया, त्यत्रो ज्याला माथी तीनपर खाएर पनि अझै सुत्ने ? कति लाज डर सकिएको हँ..।
नकराउनुस् न आमै । भर्खरै बिँडी पिउँदै थिएँ । नपत्याए हेर्नुस ती ठुटो अझै पुत्ताउँदैछ । बिँडिको अन्तिम शेष देखाउँछ ऊ । दाउरा चिर्दा चिर्दै एकछिन बिँडी पिउने बाहनाले सुस्ताउन बसेको बिर्खे भुसुक्कै निदाएको थियो । सायद आमैलाई पत्यार लाग्यो । कराउन छोडेर खाजा दिएर हिँडिन् ।
राती पटक्कै सुत्न सकेको थिएन ऊ । आजको दिन काम गर्न भन्न चार जना आएका थिए । ठुलाघरे बा, सुबेदार बाजे, हरिमाया र काइला काका । उसले सबैलाई हुन्छ भनेर पठाएको थियो । हुँदैन भनेर सुख्खै थिएन । सबैभन्दा धेरै ऋण ठुलाघरे बा बाट ल्याएको थियोे उसले । उनकोमा न आए बुढाले घरबाट बेघर गराउने धम्की दिन्थे । सुबेदार बाजेको मिजास मसिनो, हिसाब-किताब कडा थियो । हरिमायाले मर्म बुझ्थिन्, तर त्यसै केही दिँदैनथिन् । काइला काका कन्जुस थिए । कुल मिलाएर भन्नुपर्दा सबै सुद्खोर थिए । मुठी दिएर मानो असुल्ने खालका । ठुलाघरे बा’को धम्कीले बिर्खे तर्सन्थ्यो । यसैले अरु तीन जनालाई ढाँटेर यता आएको थियो बिहान ऊ ।
गाउँ भरी ऋण छ । आम्दानीको स्रोत केही छैन । बाख्रा पाल्यो पाठो जन्मिने बित्तिकै एउटा साहुले उठाउँछ । भैंसी पाल्यो त्यही फुकाउँछ । गाई पाल्यो बाच्छो खोसेर लैजान्छ । बिर्खेको पौरखले जे राम्रो उब्जन्थ्यो साहुले त्यही तान्दछ । पाखोबारी छ, सिँचाई छैन । मौसमले ठग्छ । रुखो माटो खेती गर्दा खती मात्र हुन्छ । खन्यो जोत्यो छर्यो खान पुग्दैन । छोराछोरी हुर्काउनै पर्यो । घरखर्च धान्नै पर्यो । दुःख बिरामी पर्दा औषधि मुलो चाहिने । चाडवाड आउँदा एक गाँस मीठो खाना र एकसरो कपडा जुटाउनु पर्ने । कहाँबाट कसरी जुटाउँ, के गरी गृहस्थी चलाउँ ? परदेश जाउँ काम जानेको छैन, भाषा बुझ्न सकिने होइन । लामो काम पाउँदैन । कदाचित पाइए साहु त्यहीँ गएर हैरान पार्छन् । मान्छे सोझो र असल भएर नहुने । गरिबीमा इमानदारी नचल्दो रहेछ । आफू गरिब छ, सबैसँग माग्नुपर्छ सबैलाई ढोग्नुपर्छ । जि हजुर गर्नुपर्छ । उनीहरुले भनेको मान्नुपर्छ । भनेको बेला पुग्नु र पुर्याउनु पर्छ । एउटा मान्छे एकैपटकमा सबैको मेलामा पुग्न नसक्ने । सबैको ऋण भाकानीतिमा तिर्न नसक्ने । जसले जे जे भन्छ त्यो त्यो तत्तत समयमा पुर्याउन नसक्ने भएपछि गाउँ भरी उसको एउटा छुट्टै नाम चलेको छ- बेइमान बिर्खे ।