हेटौडा,२० फागुन । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘आँशुको शक्ति’का लेखिका सुनिता दनुवारलाई आँचल साहित्य कला पञ्ज मकवानपुरले उहाँको कृति माथि चर्चा गर्दै सम्मान गरेको छ ।
पुञ्जका अध्यक्ष अप्सरा तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न. ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि तामाङले मानव बेचबिखन हाल आएर परम्परागत ढंगले नभई बैधानिक ढंगले भइरहेको बताउनुभएको छ । उहाँले महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोणलाई परिवर्तन ल्याउन सुनिता दनुवारहरु जस्ताले आँट गर्नुपर्ने समेत भनाई राख्नुभयो ।

लेखिकाले आफूले सानो उमेरमा गर्नुपरेको संघर्ष सहितको विषयवस्तुलाई कृतिको रुपमा प्रकाशित गरेको निरा शर्माको प्रतिक्रिया रहेको थियो । मानव बेचबिखनमा शक्ति समूह मार्फत अभियान चलाइराख्नुभएकी सुनिताले भर्खरै प्रकाशित गर्नुभएको कृतिले महिलाहरुको निम्ति प्रेरणा दिनेमा कार्यक्रममा चर्चा गरिएको थियो । कार्यक्रमलाई सहजीकरण अनिता न्यौपाने र संंचालन भावना सापकोटाले गर्नूभएको थियो ।