अनवर अली-(झापा)

कुनै पनि पिर,व्यथा नराखी छातीमा, फूल चढाइदिनू
एकथोपा नि आँशु नल्याइ परेलीमा, फूल चढाइदिनू
तिम्रो खुसीको लागि मात्र मर्ने निर्णय गरेको हुँ प्रिया १
अन्तिम पटक आएर मेरो समाधिमा फूल चढाइदिनू ।
मुक्तक २

एउटै फलामको एक टुक्रा ढाल, अर्को तरवार बन्न सक्छ
उही चाँदी पनि खुट्टाको पाउजु र गलाको हार बन्न सक्छ
एउटै कोखबाट जन्मेको सन्तानमा समान बिचार नहोला
एउटा छोरा वाल्मीकि अनि अर्को डाँकु खुँखार बन्न सक्छ ।
मुक्तक ३

कति दुखेको होला उहाँको हृदय बुझ्नै सकिन
मेरै लागी गर्नु भएछ बाँच्ने मर्ने तय बुझ्नै सकिन
मनबाटै हासिरहनु भाको झै देख्थे म जहिल्यै
गज्जब रैछ मेरो बाको अभिनय बुझ्नै सकिन।।

             मुक्तक ४

मैले नचाहेको कुरा बेकार दिएर गई
मेरो एक नसुनि हतार हतार दिएर गई
मैले समय मात्रै मागेको थिएँ ऊनीसँग
निष्ठुरीले मलाई घडि उपहार दिएर गई ।