हेटौडा, माघ २६ । प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरको आज सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले सत्ताधारीलाई जहिलेपनि खबरदारी गर्दै सहि बाटोमा लैजानु लेखक तथा संस्कृतिकर्मीहरुको दायित्व रहेको बताउनुभयो । प्रगतिशील लेखक संघ पुरानो संस्था भएपनि यसका केही कमजोरीको कारण यसको उदेश्य जति काम गर्न नसकेको भन्दै प्रमुख अतिथि थपलियाले अब नयाँ कार्यशैली सहित विचार र कामलाई तिखार्न जरुरी रहेको विचार राख्नुभयो ।
कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, ३ न. प्रदेश सांसद प्रेम बहादुर पुलामी, हेटौडा उपमहानगरपालिका ४ नं.वडा अध्यक्ष नविन सिग्देल, संघका पूर्व अध्यक्ष सम्राट तुम्बाहाङ्फे, जिल्ला सल्लाहकारहरु कौशल पाण्डे, उमाकान्त आचार्य एवम अतिथिहरु ऋषिराम पोख्रेल, तुलसी घिमिरे लगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष पुरुषोत्तम आचार्यले संस्थाले गरेको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमैया विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सम्मेलनले शान्तिप्रिय बन्दनाको नेतृत्वमा प्रगतिशील लेखक संघ मकवानपुरको नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जिवी लामिछाने र कोषाध्यक्षमा डि.बि.बर्तौला चयन गरिएको छ ।