हेटौंडाः
प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु गर्ने तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सरकारले उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आबबाट सुरु गरिने मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ । रोजगारीको हकमा सरकारले रोजगारी हक सम्बन्धी ऐन निर्माण गरिसकेको छ ।
कुनैपनि नेपाली बाध्यात्मक स्थिति बाहेक रोजगारीका लागि विदेश जानु नपर्ने गरी काम गर्ने तयारी भैरहेको मन्त्रालयका सचिव महेश दाहालले बताए ।
उक्त कार्यक्रम सुरु भए लगत्तै देशका ७ सय ५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र खुल्नेछ । सो केन्द्रमा करारमा एक जना कर्मचारी भर्ना प्रकृया पनि अगाडी बढेको सचिव दाहालले जानकारी दिए ।
केन्द्रले बेरोजगारको तथ्यांक संकलन गर्ने, बेरोजगार सीप र तालिम दिएर रोजगार बनाउने अवसर प्रदान गर्नेछ । सो सम्बन्धमा आवश्यक प्रकृयाहरु अगाडी बढेको सो मन्त्रालयले हेटौंडामा आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको हो ।
यस सम्बन्धमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले विगतमा पनि यस्ता कार्यक्रम आएको तर व्यवहारमा सफल नभएको बताउँदै यो कार्यक्रमलाई सबैले सफल पार्न जोड दिनुपर्ने धारणा राखे । मन्त्रालयले प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुसँग समेत छलफल गरेको छ ।