हेटौडा : नारायणी यातायात व्यवसायी संघको बार्षिक साधारण सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा हाल सरकारले सेण्डिकेट हटाउन गरेको निर्णय मार्फत व्यवसायीहरुको संघलाई समेत खारेज गरेसँगै सवारी दुर्घटनामा उपचारमा समस्या रहेको गुनासो गरेका छन् ।
उनीहरुले विमा कम्पनीले निश्चित रकम दिएपनि कतिपय अवस्थामा उपचार खर्च बढी आउँदा सो खर्च व्यवसायी संघले व्यहोरेर आज सम्म आएको र संघ नै खारेज, बैंक खाता रोक्का गरिदिंदा यात्रु तथा मजदुरहरुलाई असर गरेकोले सरकारको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा प्रमुख अतिथि खतिवडाले यातायात व्यवसायीको समस्यालाई समाधानका लागि छलफल गरी निर्णय गरिने र यसका लागि आफूले सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा प्रदेश ३ का विपक्षी दलका नेता सभासद इन्द्रबहादुर बानियाँ, सभासद प्रेमबहादुर पुलामी, कुमारी मुक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, प्रदेश ३ पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संघका महासचिव सरोज खनालको सञ्चालनमा भएको साधारण सभामा संघका कोषाध्यक्ष राजेश खड्गीले संघको आयव्यय प्रस्तुत गर्नुभएको थियो । संघको आर्थिक वर्ष २०७४÷२०७५ मा ४५ करोड, २० लाख, २२ हजार ८ सय ५३ रुपैया आय गरेको तथा ४५ करोड, ९१ लाख ७ हजार २ सय ९१ रुपैया खर्च भएको विवरण सार्वजनिक गरेको छ । यसैगरी गत श्रावण १ देखि पौष २२ गते सम्म ४ करोड ४४ लाख १६ हजार ९ सय ३२ रुपैया खर्च गरेको र ६ करोड, १६ लाख १४ हजार ३ सय ९५ रुपैया आम्दानी गरेको आर्थिक विवरण सार्वजनिक गरेको छ ।