हेटौंडा : हेटौंडा बजार क्षेत्र भित्र बिग्रेर बसेका सिसि क्यामेरा पुन सञ्चालनमा ल्याईने भएको छ । हेटौंडा बैंकर्स क्लबको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघलाई सिसि क्यामेरा मर्मत तथा विस्तारका लागि आज ४ लाख २५ हजारको चेक संघका अध्यक्ष कृष्ण कटुवाललाई हस्तान्तरण गरेको छ । क्लबका अध्यक्ष रमेश प्याकुरेलले हेटौंडामा रहेका २२ वटा बैंक तथा वित्तीय संस्थाबाट प्राप्त सो रकम संघमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकका मेयर हरिबहादुर महतले सिसि क्यामेरा जडानका लागि आवश्यक सहयोग आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले सिसि क्यामेरा चुस्त भएमा शान्ति सुरक्षामा आफूहरुलाई सहयोग पुग्ने र आपराधिक क्रियाकलापमा कमी आउने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता सामाजिक कार्यको खुलेर प्रंशसा गरेका छन् ।
संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले बजार क्षेत्रमा रहेका ३८ वटा सिसि क्यामेरा मध्ये हाल ३४ वटा बिग्रेर बसेको बताएका छन् । न्यौपानेका अनुसार करीब २ दर्जन सिसि क्यामेरा बजार क्षेत्रका लागि अझै थप आवश्यक रहेको बताएका छन् । जडान गरिएका सबै सिसि क्यामेराको जिल्ला प्रहरी कार्यालयले मनिटरिङ्ग गरिरहेको छ । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, संघका पदाधिकारी लगायको उपस्थिति रहेको थियो ।